नुवाकोट :- सरकारसँग भएको सहमति अनुसार विद्यालय शिक्षा ऐन लागू गर्नुपर्ने माग राख्दै नुवाकोटका शिक्षकहरूले चरणबद्ध आन्दोलन सुरु गरेका छन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरूले सरोकारवाला कार्यालय तथा निकायहरूमा धर्ना र विरोध कार्यक्रम गर्दै सरकारमा दबाब बनाउने प्रयास गरिरहेका छन्।
आइतबार शिक्षकहरूले शिक्षा विकास तथा समन्वय ईकाइ, विदुरमा दुई घण्टा धर्ना दिएका छन्। विरोध कार्यक्रममा स्थायी, राहत, अस्थायी र करार शिक्षक एवं कर्मचारी सहभागी थिए। उनीहरूले कार्यालय प्रमुख रामप्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सरकारले शिक्षकहरूलाई अलमलमा पार्ने प्रयास गरेको आरोप लगाएका छन्।
शिक्षक महासङ्घका अनुसार शिक्षासम्बन्धी कानुन निर्माण अपरिहार्य विषय हो। सरकारले शिक्षक महासङ्घसँग भएको ९ बुँदे सहमति अनुसार विद्यालय शिक्षा ऐन लागू गर्नुपर्ने महासङ्घको मुख्य माग रहेको छ। नुवाकोटका विभिन्न स्थानमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले पनि यस विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाएका छन्।


