काभ्रे :- चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्देशन रहेकाे चलचित्रकाे टिजरको सुरुवातमा देशको एक हिस्सा बैरीहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ ।
पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन् । त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत चढाउँदै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको भाव व्यक्त गर्छन्। दृश्यमा बुढाथोकी राजसी पहिरनमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा छन् ।
आसुसेन फिल्मस प्रा. लिको ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट, कार्यकारी निर्माता प्रेम पुरी हुन् ।


