
काठमाण्डौ :- मध्यबानेश्वरमा अवस्थित काठमाण्डौ शिक्षालयले २०८० माघ २७ गते शनिबार वार्षिक प्रदर्शनी उत्साहपूर्ण र प्रभावकारी ढंगले सम्पन्न गरेको छ।मण्टेश्वरी देखी कक्षा ८ सम्मका विद्यार्थीहरूले विज्ञान,गणित,सामाजिक ,नेपाली विषयसँग सम्बन्धित तथा अतिरिक्त विधामा आ-आफ्नो ज्ञान-सिपको प्रयोगबाट निर्माण गरेका विविध सिर्जनाहरूलाई प्रदर्शनीमा राखिएको थियो। अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त प्रदर्शनीमा विद्यार्थी भाइबहिनीहरूले आ-आफ्नो सिर्जनाको पृष्ठभुमी,उद्देश्य र उपयोगिताको बारेमा अभिभावकहरूलाई बताएका थिए। विज्ञानका नविन सिर्जना देखी देशका भौगोलिक विविधता अनुसारको कृषी क्षेत्र र कृषी बाली, विभिन्न समुदाय र संस्कृतिका भेष-भुषा,खानेकुराको साथै नेपाली साहित्यका मुर्धन्य साहित्यकारहरुको बारेमा आफुले बुझेको कुरा प्रदर्शीनिमा उपस्थित अभिभावकहरुलाई बताउँदै गरेका स-साना बालबालिकाहरुको मुहारमा छुट्टै उमँग देखिन्थ्यो।कार्यक्रमलाई भव्यताका साथ व्यवस्थापन गरिराख्नुभएका विद्यालयका संचालक तथा शिक्षक हरि खनालले यस्ता कार्यक्रमहरुले सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक अभ्यास गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।
यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राज पाण्डेले हरेक विद्यालयले सैद्धान्तिक ज्ञानको साथ-साथै यस्ता प्रयोगात्मक ज्ञानको अभ्यासमा विशेष जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो।अभिभावकको उल्लेख्य उपस्थिति र हौसलाबाट प्रेरित विद्यालयका प्राचार्य डा.नवराज आचार्य तथा सह-प्राचार्य जुलन सिंह लामाले पनि कार्यक्रम प्रभावकारी भएको र आगामी दिनमा अझै सशक्त बनाउने दृढता प्रकट गर्नुभयो। बिद्यार्थी र अभिभावकहरू गरी करिब पाँच सय भन्दा बढीले अवलोकन गरेको उक्त प्रदर्शनी निक्कै उत्साहजनक ढंगले सम्पन्न भयो भने विभिन्न विद्यार्थीहरुले यस्ता कार्यक्रमहरुले आफ्नो क्षमता प्रस्फुटन गर्न तथा आत्मबिश्वास बढाउन मद्दत पुर्याउने विचार व्यक्त गरेका थिए भने काठमाण्डौ शिक्षालयले कितावी ज्ञानको साथ-साथै ब्यबहारिक ज्ञानमा जोड दिएकोमा अभिभावकहरूले खुशी व्यक्त गरेका थिए।