बनेपा :- नेकपा (एमाले) निकट अनेरास्ववियु काभ्रेपलाञ्चोकमा लामो समयदेखि देखिएको आन्तरिक विवाद पुनः चर्चामा आएको छ। जिल्ला कमिटीले पूर्वनिर्धारित विस्तारित भेला अन्तिम समयमा स्थगित गरेपछि संगठनभित्र नेतृत्व, समन्वय र गुटीय प्रभावबारे प्रश्नहरू फेरि उठ्न थालेका छन्।
काभ्रेमा गुटीय ध्रुवीकरणको सुरुवात एमालेको ११औँ जिल्ला अधिवेशनदेखि भएको राजनीतिक वृत्तको विश्लेषण छ। उक्त अधिवेशनमा चन्द्र लामा र गोकुल बास्कोटा समूहबीच नेतृत्वलाई लिएर तीव्र प्रतिस्पर्धा भएको थियो। त्यसको प्रभाव विद्यार्थी संगठन अनेरास्ववियुसम्म पुगेको बताइन्छ।
२०८१ साल पौषमा सम्पन्न अनेरास्ववियुको ३१औँ जिल्ला अधिवेशनमा एउटै अधिवेशनबाट दुईवटा जिल्ला कमिटी घोषणा भएपछि संगठनभित्रको विवाद खुला रूपमा बाहिरीएको थियो। संगठनलाई एकीकृत रूपमा अघि बढाउने प्रयास प्रभावकारी हुन नसकेको भन्दै कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
हालै श्रावण १७ गतेका लागि विस्तारित भेला आयोजना गरिने भन्दै नेताहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक आह्वान गरेका थिए। तर केही समयपछि जिल्ला कमिटीकै नामबाट “आज बैठक वा भेला छैन, छिट्टै बैठक आह्वान गरिनेछ” भन्ने सूचना जारी गरियो। यस घटनाले संगठनभित्र निर्णय प्रक्रियामै मतभेद रहेको संकेत गरेको भन्दै राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
संगठनभित्रका केही नेता तथा कार्यकर्ताले गोकुल बास्कोटा निकट नेतृत्वमाथि संगठनलाई एकपक्षीय रूपमा सञ्चालन गर्न खोजेको, फरक धारका कार्यकर्तालाई निर्णय प्रक्रियाबाट बाहिर राखेको तथा संगठनात्मक गतिविधि प्रभावहीन बनाएको आरोप लगाएका छन्।












