काठमाडौं :- कैलालीमा साढे तीन किलोभन्दा बढी लागुऔषध चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई चरेससहित नियन्त्रणमा लिइएको हो।
आइतबार दिउँसो अत्तरियास्थित ममता सेकुवा सेन्टरबाट दुई किलो ९५ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त घटनामा सेकुवा सेन्टरका सञ्चालक ४५ वर्षीय शंकरकुमार शाही र धनगढी उपमहानगरपालिका–१ मा बस्दै आएका कञ्चनपुरका ५२ वर्षीय मीनराज भट्ट पक्राउ परेका छन्।
त्यसैगरी, अत्तरिया–धनगढी सडकखण्डबाट एक किलो २३६ ग्राम चरेससहित गोदावरी नगरपालिका–२ का ३८ वर्षीय धर्म धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।










