काठमाडौं :- जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–३ निवासी ३० वर्षीय लवबहादुर सेजुवालले गत बुधबार दिउँसो करिब १२ बजे मादक पदार्थ सेवन गरेर आकस्मिक कक्षमा प्रवेश गरी ड्युटीमा रहेका चिकित्सकहरूमाथि अभद्र व्यवहार गरेका थिए।
प्रहरीका अनुसार सेजुवाल यसअघि पनि प्रतिष्ठान परिसरमा अनधिकृत रूपमा प्रवेश गरी यस्तै प्रकारको अभद्र व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन–२०७९) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जुम्ला जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।










