काठमाडौँ :- बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित थुकैला गाउँबाट प्रहरीले खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्ने व्यक्ति भारतको उत्तर प्रदेशका ४० वर्षीय मोहम्मद रिजवान हुन्।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा थुकैलाबाट गडियनपुरवा जाँदै गरेका रिजवानलाई प्रहरीले शंका लागेपछि जाँच गरेको थियो। जाँचका क्रममा उनले अण्डरवेयरभित्र लुकाएर ल्याएको ६३ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो नेपालगन्ज र प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय बाँकेले अघि बढाएको छ।










