काठमाडौँ :- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने व्यक्तिविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालले शनिबार जारी गरेको विज्ञप्तिअनुसार प्रकाश खड्का नाम गरेका व्यक्तिले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै अभद्र भाषा प्रयोग गरी धम्की दिएको अडियो सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको हो ।
विज्ञप्तिमा कानुनअनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि भय, त्रास र दबाब सिर्जना गर्ने गतिविधि निन्दनीय तथा अक्षम्य रहेको उल्लेख गरिएको छ । साथै, प्रधानमन्त्री सुशासन, विधिको शासन र राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा तथा उच्च मनोबलका पक्षमा दृढ रहेको जनाइएको छ ।
कार्यालयले प्रधानमन्त्री, सचिवालय वा प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी फोन, भेटघाट वा अन्य माध्यमबाट धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने प्रयासप्रति सचेत रहन आमनागरिक तथा सरकारी निकायलाई आग्रह गरेको छ ।
यस्तै, शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र आवश्यक कामकारबाही अघि बढाउन सबै सरकारी निकाय, स्थानीय तह र राष्ट्रसेवक कर्मचारीलाई अनुरोध गरिएको छ ।




