काठमाडौँ :- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा सुनसरीका ३२ वर्षीय राजकुमार तामाङ, दाङका ३१ वर्षीय प्रकाश केसी, काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जाका २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।
प्रहरीका अनुसार राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै एक जनाबाट ११ लाख ५५ हजार रुपैयाँ ठगेका थिए । त्यसैगरी प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै १२ जनाबाट ९३ लाख रुपैयाँ ठगेको आरोप छ ।
डिल्लीमान तामाङले दुई जनाबाट १४ लाख ७५ हजार, श्रीहाङ एकतिनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख २५ हजार तथा नमुना भण्डारीले मकाउ पठाइदिन्छु भन्दै तीन जनाबाट ५ लाख ५० हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।




