काठमाडौँ :- नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २७ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी को केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
काठमाडौँमा मात्र ट्रामाडोल, नाइट्राभेट ट्याब्लेट र नगद रकमसहित एक जना पक्राउ परेका छन्। गोकर्णेश्वर क्षेत्रबाट पनि ट्रामाडोलसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।
त्यस्तै कैलाली, लम्कीचुहा, बाँके, झापा, सुनसरी, ललितपुर, सिन्धुली लगायतका जिल्लाबाट ब्राउनसुगर, चरेस, खैरो हेरोइन तथा अन्य लागुऔषधसहित थप व्यक्तिहरू पक्राउ परेका छन्।
तनहुँमा डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगनजस्ता औषधिजन्य लागुऔषधसहित एक जना पक्राउ परेका छन् भने केही स्थानमा ठूलो परिमाणमा ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ।




