काठमाडौँ :- आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा दैलेख नौमुले गाउँपालिका–८ की २९ वर्षीया ज्वालाकुमारी चन्द, कास्की पोखरा–१२ की ३९ वर्षीया भीमकुमारी गुरुङ र गोरखा सिरानचोक–६ का ३७ वर्षीय भगवानराज ठकुरी रहेका छन्। उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ज्वालाकुमारीले अजरबैजान पठाइदिने भन्दै एक पीडितबाट ३ लाख ३४ हजार रुपैयाँ, भीमकुमारीले हङकङ पठाइदिने भन्दै ५ लाख रुपैयाँ र भगवानराजले बेलायत पठाइदिने प्रलोभनमा १ लाख २० हजार रुपैयाँ ठगी गरेका थिए।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।




