काठमाडौँ :- प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने आरोपमा इन्द्रलाल गोलेलाई पक्राउ गरेको छ। उनी वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँका सञ्चालक हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, सन्धुली, सुनकोसी गाउँपालिका–७ घर भइ काठमाडौँ, नागार्जुन नगरपालिका–५ आदेश्वर बस्ने ६६ वर्षीय गोलेलाई कानुन विपरीत रकम असुल गर्ने र पीडितबाट उजुरी लिने सूचनाको आधारमा पक्राउ गरिएको हो।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सोधपुछ गर्दा गोलेले आफू संस्थाको अध्यक्ष भएको बताउँदै विभिन्न अपशब्द प्रयोग गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका गोलेलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो।




