काठमाडौँ :- काठमाडौंको Balaju Baise Dhara मा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ अर्थात् ल्हुति पुन्हि मेला सुरु भएको छ।
बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको बराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
भक्तजनलाई स्नान गर्न सहज बनाउने उद्देश्यले बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था गरिएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले जानकारी दिनुभयो।
उहाँका अनुसार मेला भर्न बौद्ध तथा हिन्दू धर्मावलम्बीहरू ठूलो सङ्ख्यामा आएका छन्।
नेवार समुदायले यस दिन ‘मन्नादी’ देवीको जन्मोत्सव पनि मनाउने परम्परा रहेको छ। विशेषगरी महिलाहरूले बाइसधारामा स्नान गरी मन्नादी देवीको पूजाअर्चना गरे मनोकामना पूरा हुने विश्वास रहेको छ।
स्थानीय बुढापाकाका अनुसार बालाजुमा स्नान गर्नाले छालासम्बन्धी रोग नलाग्ने जनविश्वास पनि रहेको छ। इतिहासअनुसार नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गरेका थिए भने १८५५ सालमा राजा रणबहादुर शाहले थप एउटा ठूलो धारा निर्माण गराएका थिए।




