काठमाडौं :- लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप लागेको छ।
यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहेको समयमा उनको घरबाट एक बालिकाको उद्धार गरिएको थियो। सो घटनाबारे उनले २९ माघ २०८१ मा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पीडितलाई हौसला दिएका थिए।
शाहले बालबालिकामाथि हुने विभेद र अपराध अन्त्य गर्न शिक्षा र सामाजिक चेतनाको आवश्यकता रहेको उल्लेख गरेका थिए।
प्रधानमन्त्री बनेलगत्तै शर्मामाथि कारबाही अघि बढाइएको स्रोतले जनाएको छ। साथै, उनलाई पक्राउ पुर्जी नदिई मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरिएको छ।




