काठमाडौँ :- पर्सा प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरी सहित चार जनालाई शङ्कास्पद वस्तुसहित पक्राउ गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त जाँच टोलीले हरपुरबाट बडनिहारतर्फ जाँदै गरेको बा१०च १२५० नम्बरको गाडी जाँच गर्ने क्रममा डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बाकसमा शङ्कास्पद वस्तु फेला पारेको जनाएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ।
पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार पक्राउ परेकामध्ये ४६ वर्षीय उम्मेदवार चौधरीसँगै बाराको प्रसौनी गाउँपालिका–४ का सहाब आलम अन्सारी, धनुषाको धनुषाधाम नगरपालिका–४ का सुरज कार्की र पर्सागढी नगरपालिका–३ का सत्यनारायण थारू रहेका छन्।
यसैबीच, वीरगन्ज महानगरपालिका–१६ इनर्वागाउँमा विशेष सूचनाका आधारमा खटिएको एकीकृत सुरक्षा टोलीले नौ थान सुतली बम, एक थान सुँगुरको टाउको र करिब १० मिटर वायरिङ तार बरामद गरेको छ। उक्त घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले पक्राउ परेकामाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।




