काठमाडौँ :- भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा हतियारसहित एक युवक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलको इन्टेलिजेन्ट ब्यूरोको टोलीले सादा पोसाकमा खटिएर गणेश बस्तीमा छापा मार्दा उनी नियन्त्रणमा आएका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति गोरखा पालुङटार नगरपालिका–९ का ३१ वर्षीय आयन सेढाई हुन्।
उनी हाल सूर्यविनायक–८ भुम्डोल क्षेत्रमा बसोबास गर्दै आएका थिए।
प्रहरीले उनको साथबाट इन्सास राइफल एक थान र त्यसमा प्रयोग हुने चार राउन्ड गोली बरामद गरेको जनाएको छ।
साथै रबरको गोली एक राउन्ड, सटगनको गोली एक राउन्ड, खुकुरी र बञ्चरो पनि फेला परेको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।




