काठमाडौँ :- निर्वाचन आयुक्त सगुन शमशेर राणाले निर्वाचनको मौनअवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन कडा निगरानीको व्यवस्था गरिएको जानकारी दिएका छन्।
उनका अनुसार मौनअवधि राजनीतिक दल र उम्मेदवारका लागि विश्रामको समय मात्र नभई मतदाताले स्वतन्त्र रूपमा उम्मेदवार छनोट गर्न पाउने महत्त्वपूर्ण अवधि हो।
‘यस अवधिमा राजनीतिक दल वा उम्मेदवारले मतदातालाई प्रभावमा पार्ने प्रयास गर्न सक्छन् भन्ने सम्भावनालाई ध्यानमा राखेर आयोगले विशेष सतर्कता अपनाएको छ,’ उनले बताए।
निर्वाचन सुरक्षाका लागि करिब तीन लाख ४२ हजार सुरक्षाकर्मी परिचालन गरिएको र मतदान केन्द्रदेखि मतगणनासम्म शान्ति सुरक्षा सुनिश्चित गरिएको आयोगले जनाएको छ।




