काठमाडौँ :- कुलमान घिसिङले दिगो विकास, सुशासन र समृद्धिका लागि स्पष्ट कार्ययोजना अघि सारेका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्षसमेत रहेका उनले पाँचथरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ऊर्जा क्षेत्रमा आफ्नो नेतृत्वमा हासिल भएको उपलब्धि स्मरण गराउँदै अब समग्र देशलाई उज्यालो भविष्यतर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले जेन–जेड (Gen-Z) पुस्ताले अब नेतृत्व सम्हाल्नुपर्ने समय आएको उल्लेख गर्दै आफू युवापुस्ताको भावना, सोच र ऊर्जाको प्रतिनिधित्व गर्ने नेतृत्वका रूपमा अघि बढिरहेको बताए। “हामीले काम गरेर देखाइसकेका छौँ, अब देश बदल्ने जिम्मा जनताले दिनुपर्छ,” उनले भने।
युवाशक्ति, पारदर्शिता र भ्रष्टाचारविरुद्धको दृढ अडान नै आफ्नो पार्टीको मूल आधार भएको उल्लेख गर्दै उनले परिवर्तन चाहने सबैलाई एकताबद्ध हुन आह्वान गरे। साथै पाँचथर तथा कोशी प्रदेशमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरे।




