काठमाडौँ :- निर्वाचन आयोगले फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा अवरोध गरे कडा कारबाही हुने चेतावनी दिएको छ।
सङ्घीय कानुनअनुसार निर्वाचन प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा–अवरोध पुर्याउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार गतिविधिलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। केही दल वा उम्मेदवारको प्रचारकार्यमा अन्य दल, कार्यकर्ता वा व्यक्तिहरूले अवरोध सिर्जना गरेको भन्दै आयोगमा गुनासो तथा उजुरी परेका छन्।
यस विषयमा विभिन्न सञ्चारमाध्यमबाट पनि जानकारी प्राप्त भएको उल्लेख गर्दै आयोगले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।




