काठमाडौँ। चीन सरकारले आसन्न निर्वाचनका लागि नेपाललाई ४० लाख अमेरिकी डलर अनुदान प्रदान गर्ने भएको छ। अनुदानस्वरूप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल का अनुसार बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएअनुसार बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौँ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौँको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।
बैठकले बिमा ऐन, २०७९ को दफा १४० बमोजिम कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न काठमाडौँ जिल्ला अदालत लाई तोक्ने निर्णय गरेको छ। साथै विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मका सार्वजनिक बिदा पनि निर्धारण गरिएको छ।
मन्त्रिपरिषद् बैठकले जेनजी परिषद् गठन गर्ने निर्णयसमेत गरेको जानकारी प्रवक्ता अर्यालले दिनुभएको छ।




