दाङ :- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भौतिक पूर्वाधारबाट वञ्चित दाङका दुई अतिसंवेदनशील मतदानस्थलको स्थलगत अनुगमन गरिएको छ।
मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको नेतृत्वमा तुलसीपुरस्थित सुरक्षा निकायका प्रमुखहरू सम्मिलित टोलीले बबई गाउँपालिका–१ भाङाबारीमा रहेको जनकल्याण आधारभूत विद्यालय र सोही वडाको सरस्वती जनता माध्यमिक विद्यालय, गङ्गटेमा रहेका मतदानस्थलको निरीक्षण गरेको हो।
अनुगमनका क्रममा मतदानस्थलको भौगोलिक अवस्था, सम्भावित सुरक्षा जोखिम, यातायात, सञ्चार सुविधा, खानेपानी तथा मतदानमा खटिने कर्मचारीको बसोबास व्यवस्थाबारे जानकारी संकलन गरिएको मुख्य निर्वाचन अधिकृत पण्डितले बताए। ती दुवै मतदानस्थल विकट र दुर्गम क्षेत्रमा पर्ने भएकाले ‘दाङको कर्णाली’का रूपमा चिनिन्छन्।
अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख उपसचिव पुष्प पौडेल, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत चन्द्रबहादुर सिञ्जाली, निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत भुपाल भण्डारी तथा राष्ट्रिय समाचार समिति दाङका प्रमुखलगायतको सहभागिता रहेको थियो।
निर्वाचन अधिकृत सिञ्जालीका अनुसार दाङ निर्वाचन क्षेत्र नं. ३ मा ५६ मतदानस्थल र १६९ मतदान केन्द्र रहेका छन्, जसमध्ये पाँच मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।




