काठमाडौँ :- निर्वाचनलाई बढी सहभागितामूलक बनाउने र बदर मतको प्रतिशत घटाउने उद्देश्यले निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। आम नागरिकलाई मताधिकारको महत्व तथा मतदान प्रक्रियाबारे जानकारी दिन आयोगबाट स्वीकृत कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो।
आयोगका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। उनीहरूले मतदाताको बस्ती तथा घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराइरहेका छन्।
कार्यक्रमको प्रभावकारी अनुगमनका लागि स्थानीय तहमा यसअघि तोकिएका सम्पर्क व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ र अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाउने व्यक्तिको निगरानी गर्न आयोगले सम्बन्धित नियामक निकायसँग समन्वय गर्दै कानुनी कारबाही प्रक्रिया अघि बढाइरहेको छ। आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन एकाइ पूर्ण रूपमा सक्रिय रहेको छ।
हानिकारक सूचना उत्पादन तथा प्रसारण गर्ने २९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ। यस्तै, ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणमा, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार प्रेस काउन्सिल नेपालमा तथा एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार सम्बन्धित निकायमा कारबाहीका लागि पठाइएको आयोगले जनाएको छ।




