काठमाडौँ :- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। कानुनी व्यवस्थाअनुसार मतदान मितिभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने प्रावधान छ।
यसैअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्। आचारसंहिताको पूर्ण पालना गर्दै मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पाउने व्यवस्था गरिएको छ।
निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरेको जनाएको छ। उल्लङ्घनका घटनामा पत्र काटेर स्पष्टीकरण सोध्ने तथा आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाइने स्पष्ट पारिएको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घनमा शून्य सहनशीलता नीति अवलम्बन गरिनेछ। उल्लङ्घन पुष्टि भएमा सचेत गराउनेदेखि दण्डजरिवाना र उम्मेदवारी खारेजीसम्मको व्यवस्था छ।
दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न सक्नेछन्। साथै, आमसभा वा कोणसभा गर्दा मञ्च तयारीलगायत खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।
निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले उल्लेख गरेको छ।




