काठमाडौँ :- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्री तयार गरेको छ। लोकतन्त्र, निर्वाचन प्रक्रिया, समावेशिता, मतदाता नामावली तथा मतदान प्रक्रियासम्बन्धी विषय समेटेर सामग्री तयार पारिएको आयोगले जनाएको छ।
यसैगरी, मतदानको महत्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन प्रणाली र राजनीतिक दललगायत विषय पनि स्रोत सामग्रीमा समावेश गरिएको छ। आयोगले ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ शीर्षकको सामग्री सबैले सहजै पहुँच पाउन सकून् भन्ने उद्देश्यले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।
आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार ती सामग्रीको आधारमा सरकारी तथा नागरिक क्षेत्रका सरोकारवाला निकाय, संस्था र व्यक्तिले नागरिक शिक्षा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सक्नेछन्। साथै, आगामी फागुन १ गतेदेखि मतदाता शिक्षा कार्यक्रमलाई थप तीव्र बनाउने तयारी आयोगले गरेको छ।




