काठमाडौँ :- केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म ५१ वटा उजुरी परेका छन् । ती उजुरीका आधारमा सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण मागिएकोमा ३० वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेका राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसँग पनि स्पष्टीकरण मागिएको छ । दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारका हकमा भने प्रेस काउन्सिल नेपालमार्फत आवश्यक स्पष्टीकरण र कारबाहीका लागि पत्राचार गरिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।
जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी प्राप्त भई आवश्यक प्रक्रिया अघि बढाइएको छ । आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न उजुरीमाथि जाँचबुझ र कारबाहीको प्रक्रिया निरन्तर अघि बढाइरहेको जनाएको छ । यसका लागि केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको बताइएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । छोटो समयमै जिल्लास्तरमा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराई पालना गर्ने प्रतिबद्धता गराउने काम प्रभावकारी रूपमा भइरहेको आयोगले जनाएको छ ।
जिल्लामा दर्ता भएका उजुरीबारे त्यहीँबाट स्पष्टीकरण मागी दोषी ठहरिएका पक्षविरुद्ध कानुनी कारबाही अघि बढाइएको पनि आयोगले स्पष्ट पारेको छ ।




