काठमाडौं :- निर्वाचन आयोगले २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्र छपाइ तथा प्याकिङको काम सम्पन्न भइसकेको जनाएको छ। आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा र सुनसरी गरी २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ पूरा भएको हो।
यस्तै, ६० जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको भए पनि प्याकिङको काम बाँकी रहेको आयोगले जनाएको छ। मतपत्र छपाइ अन्तिम चरणमा पुगेको र प्याकिङको काम क्रमशः भइरहेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छपाइ कार्य अन्तर्गत समानुपातिकतर्फका सबै मतपत्र छपाइ भइसकेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ, प्याकिङ र रुजु गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। प्रत्यक्षतर्फ दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेमा माघ १६ गतेदेखि काम सुरु गरिएको थियो। साथै, १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।




