काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापाका सुकुमवासीहरूसँग भेटघाट गरेका छन्।
झापा–५ बाट उम्मेदवार रहेका बालेन मंगलबार बिहान झापाको कमल गाउँपालिकास्थित सुकुमवासी बस्ती पुगेर स्थानीयसँग संवाद गरेका हुन्। भेटका क्रममा स्थानीय सुकुमवासीले काठमाडौँका सुकुमवासी बस्तीमा डोजर चलाइएको विषय उठाउँदै, बालेन आएपछि झापाका सुकुमवासीलाई पनि उठाइने हो कि भन्ने चिन्ता व्यक्त गरेका थिए।
यसको जवाफमा बालेनले काठमाडौँमा डोजर प्रयोग गर्नुको उद्देश्य सुकुमवासीको ज्यान जोगाउनु भएको दाबी गरे। खोला किनारको सार्वजनिक जग्गामा बसोबास गर्दा बाढीको जोखिम हुने भएकाले सुरक्षित स्थानमा सार्न खोजिएको तर त्यसलाई गलत ढंगले व्याख्या गरिएको उनले बताए।
बालेनले झापाका सुकुमवासी भने वास्तविक रहेको उल्लेख गर्दै यहाँका बासिन्दा ४०–५० वर्षदेखि बसोबास गर्दै आएको बताए। उनीसँगै बस्ती पुगेका उनका सल्लाहकार कुमान व्यञ्जनकार (कुमार वेन) ले २०४८ यता बनेका २३ वटा आयोगले पनि सुकुमवासी समस्या समाधान गर्न नसकेको बताएका थिए।
भेटघाटका क्रममा एक सुकुमवासीले पटक–पटक लगत उठाउने र कर असुल्ने भए पनि अहिलेसम्म लालपूर्जा नपाएको गुनासो गरेका थिए। बालेनले भूमि आयोगका नाममा आफ्नै कार्यकर्ता भर्ती हुने र वास्तविक सुकुमवासी वञ्चित हुने समस्या दोहोरिन नदिन आफू सचेत रहेको बताए।




