काठमाडौँ :- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा थप नौ जनालाई स्पष्टीकरण सोधेको छ।
यससँगै आयोगले हालसम्म २९ जनासँग स्पष्टीकरण माग गरेको छ, जसमध्ये १४ वटाको जवाफ प्राप्त भइसकेको छ। आयोगका अनुसार बाजुराका रास्वपा उम्मेदवार हेमराज थापाले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध अपमानजनक र धम्कीपूर्ण अभिव्यक्ति दिएको उजुरीपछि स्पष्टीकरण माग गरिएको हो।
यस्तै झापाका उम्मेदवार बालेन्द्र शाहलाई सादा पोसाकका प्रहरी प्रयोग गरी प्रचार गरेको विषयमा दोस्रोपटक स्पष्टीकरण सोधिएको छ। सिन्धुपाल्चोकमा निर्वाचन कार्यालय बाहिर निर्वाचन चिह्न पेन्ट गरेको विषयमा नेकपा र उम्मेदवार माधव सापकोटासँग पनि आयोगले जवाफ मागेको छ।




