काठमाडौँ :- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रका मतपत्र छापिसकिएको हो।
मतपत्र छपाइको कार्य जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा भइरहेको छ। आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका प्रत्यक्षतर्फका मतपत्र छपाइ पूरा भइसकेको छ। त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नं. १ र २, सुर्खेत निर्वाचन क्षेत्र नं. १ र २, रुकुमपश्चिम, बाजुरा र अछामका क्षेत्र नं. १ र २, कैलाली क्षेत्र नं. १, झापा क्षेत्र नं. ५ तथा सुनसरी क्षेत्र नं. १ का प्रत्यक्षतर्फका मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।
नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० प्रति छपाइ भई सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको छ। यस्तै, समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइसमेत सम्पन्न भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।




