काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न क्षेत्रबाट उम्मेदवारी दिएका उनीहरूलाई अभिव्यक्ति स्वतन्त्रता र निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी विषयमा स्पष्टीकरण दिन आयोगले बोलाएको जनाएको छ। बालेन शाह झापा–५, महेश बस्नेत भक्तपुर–२, हर्क साम्पाङ सुनसरी–१ र निकोलस भुसाल रूपन्देही–२ बाट उम्मेदवार छन्।
बालेनसँग सम्बन्धित विषयमा आयोगले अर्का उम्मेदवार केपी शर्मा ओलीको सामाजिक सञ्जाल स्टाटसमा गरेको कमेन्टमा प्रतिक्रिया दिएको विषयमा स्पष्टीकरण मागेको हो। हर्क साम्पाङको हकमा चुनावी प्रचारमा बालबालिका प्रयोग गर्नु, टिसर्ट लगाउनु जस्ता विषयमा स्पष्टीकरण सोधिएको छ।
महेश बस्नेतलाई बालेनसँग सम्बन्धित आपत्तिजनक टिप्पणीबारे, भने निकोलस भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्तालाई चुनाव चिन्हको रूपमा प्रचार गरेको विषयमा स्पष्टीकरण मागिएको आयोगले जनाएको छ।




