काठमाडौँ :- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइकार्य सम्पन्न भएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा आज समानुपातिकतर्फ कुल दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छापिएको केन्द्रले जनाएको छ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार आजैबाट प्रत्यक्षतर्फको मतपत्र छपाइकार्य पनि सुरु गरिएको छ। निर्वाचनको तयारीलाई समयमै पूरा गर्न केन्द्रले छपाइ कार्यलाई तीव्र गतिमा अघि बढाएको उहाँले जानकारी दिनुभयो।
यसअघि जनक शिक्षा सामग्री केन्द्रले १० लाख ९८ हजार २०० नमूना मतपत्र छापी निर्वाचन आयोगलाई बुझाइसकेको पनि केन्द्रले जनाएको छ। निर्वाचनलाई लक्षित गर्दै आवश्यक सामग्रीको व्यवस्थापन र छपाइ कार्य चरणबद्ध रूपमा सम्पन्न हुँदै गएको छ।



