काठमाडौँ :- आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचनका क्रममा बालबालिकाको प्रयोग गरिएको आरोप लगाउँदै धरान नगर बाल सञ्जालले सम्बन्धित निकायमा उजुरी दर्ता गराएको हो।
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरी तथा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिइएको सञ्जालले जनाएको छ। उजुरीमा निर्वाचन लक्षित प्रचारप्रसारका क्रममा बालबालिकालाई प्रत्यक्ष रूपमा प्रयोग गरिएको उल्लेख गरिएको छ।
उजुरीपत्रमा बालबालिका ऐन, २०७५ को परिच्छेद २ अन्तर्गत दफा ७ को उपदफा ९७(०) अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने कानुनी व्यवस्था स्मरण गराइएको छ। उक्त कानुनी प्रावधानविपरीत बालबालिकालाई चुनावी गतिविधिमा संलग्न गराइएकाले बालअधिकारको गम्भीर उल्लङ्घन भएको सञ्जालको दाबी छ।
सञ्जालले हर्क साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई आवश्यक छलफल र छानबिन गरी आचारसंहिता तथा प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।



