सुनसरी :- पूर्वमन्त्री नन्दन दत्तको निधन भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–स्थित मधुवन घर भएका दत्तको ब्रेन हेमरेजका कारण शुक्रबार राति निधन भएको हो। ७० वर्षीय दत्तको स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भयो।
दत्त तत्कालीन मधुवन गाविसमा नेपाली कांग्रेसबाट दुईपटक अध्यक्ष निर्वाचित भएका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा उनी मधेशी जनअधिकार फोरमबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत संविधानसभा सदस्य बनेका थिए।
मधेशकेन्द्रित राजनीतिक धारबाट उदाएका दत्त फोरम विभाजनपछि बाबुराम भट्टराई नेतृत्वको सरकारमा जयप्रकाश गुप्ता नेतृत्वको फोरम गणतान्त्रिकबाट कृषिमन्त्री बनेका थिए। पछिल्लो समय उनी नेपाली कांग्रेसमै फर्किएर केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिरहेका थिए।
स्वर्गीय दत्तका श्रीमती, दुई छोरा र एक छोरी छन्।



