काठमाडौँ :- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि एक करोड ५० लाख मतपत्र छापिसकेको जनाएको छ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अझै ५० लाख मतपत्र छाप्न बाँकी छ। समानुपातिक मतपत्र छापिसकेपछि प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छापाइ सुरु गरिने आयोगले जानकारी दिएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तीन हजार ४०६ उम्मेदवारको नामावली सार्वजनिक गरिसकेको छ। साथै, आयोगले शुक्रबारै निर्वाचन चिन्ह प्रदान गरेको थियो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, उम्मेदवारमा तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक जना रहेका छन्। आयोगले भनेको छ कि उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मको निर्वाचन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ।



