काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव २३ अङ्कले बढ्दै २ हजार ७१४ दशमलव ६१ विन्दुमा कायम भएको छ। सेयर बजारमा समग्र रूपमा सुधार देखिँदा कारोबार रकम पनि उल्लेख्य रहेको छ।
आज नेप्सेमा सूचीकृत ३३२ कम्पनीमध्ये १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ नाघेको छ।
कारोबार भएका कम्पनीमध्ये १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको सेयर मूल्य घटेको छ। १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। आज एसवाई प्यानल, श्रीनगर एग्रिटेक र त्रिशुली जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
समूहगत रूपमा हेर्दा बैंकिङ समूह शून्य दशमलव ३१ प्रतिशत र व्यापार समूह एक दशमलव १५ प्रतिशतले घटेका छन्। बाँकी सबै समूहका उपसूचक उकालो लागेका छन्। आज फाइनान्स समूह सबैभन्दा बढी दुई दशमलव ३८ प्रतिशतले बढेको छ।



