काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ७०५ दशमलव ३८ बिन्दुमा झरेको छ। बजार घट्दो अवस्थामा रहे पनि आजको कारोबार रकम उल्लेख्य देखिएको छ।
नेप्सेका अनुसार आज ३२४ कम्पनीका दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता शेयर ८९ हजार ७६६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ दशमलव ९९ रुपैयाँ पुगेको छ।
समूहगत रूपमा अन्य समूहको उपसूचक शून्य दशमलव २६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। बैंकिङ समूह शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ५९, वित्त एक दशमलव ६७, होटल तथा पर्यटन एक दशमलव ८८ र जलविद्युत् समूह शून्य दशमलव ०३ प्रतिशतले घटेका छन्।
त्यस्तै, लगानी समूह शून्य दशमलव ६४, जीवन बिमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव २६, म्युचुअल फण्ड शून्य दशमलव ६५, निर्जीवन बिमा शून्य दशमलव ३० र व्यापार समूह एक दशमलव २१ प्रतिशतले ओरालो लागेको छ।
आजको कारोबारमा कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ८४ प्रतिशतले बढेको छ। यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ८९ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट हुने कम्पनी बनेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी आखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ४३ करोड ३६ लाख ३६ हजार ४१३ रुपैयाँ बराबरको १८ लाख ८० हजार ४५४ कित्ता शेयर किनबेच भएको छ।



