काठमाडौँ :- स्थानीय बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। मङ्गलबारको तुलनामा आज एक तोला सुनको मूल्य १० हजार ४०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य पाँच हजार ९२० रुपैयाँ पुगेको छ।
यसअघि मङ्गलबार एक तोला छापावाल सुन दुई लाख ८४ हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ८८० रुपैयाँमा कारोबार भएको थियो। गत आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँ र चाँदी पाँच हजार ६२५ रुपैयाँमा किनबेच भएको थियो। सोमबार सुन दुई लाख ८२ हजार रुपैयाँ र चाँदी पाँच हजार ८१० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुन चार हजार ७४० अमेरिकी डलर र चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीको विकल्पका रूपमा सुन र चाँदीको माग बढेकाले मूल्यमा तीव्र वृद्धि देखिएको हो।



