काठमाडौं :- नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्। सर्वोच्च प्रशासनले रिटको पेसी माघ ६ गतेका लागि तोकेको छ। आजै मुद्दा दर्ता गरी पेसी तोक्न आग्रह गरिएको भए पनि नियमावलीका कारण सम्भव नभएको सर्वोच्च प्रशासनले जनाएको छ।
निर्वाचन आयोगको निर्णयका कारण नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन भई निर्वाचनमा सहभागी हुनबाट वञ्चित हुने अवस्था आउन सक्ने भन्दै कार्यवाहक सभापति खड्कालगायत नेताहरूले आजै पेसी चढाउन माग गरेका थिए। तर नियमअनुसार तत्काल सम्भव नभएको जनाइएको छ।
यसअघि देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशन आह्वान गरी नयाँ कार्यसमिति चयन गरेका छन्, जसबाट गगन थापा सभापतिमा निर्वाचित भएका छन्।



