काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले आइतबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको जानकारी दिए । केन्द्रीय समिति बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ ।
बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह सहभागी हुने सम्भावना रहेको बताइएको छ । यद्यपि, रास्वपासँग एकता गरेर वरिष्ठ नेता बनेका शाह हालसम्म केन्द्रीय समिति बैठकसहित पार्टीका कुनै पनि औपचारिक गतिविधिमा सहभागी भएका छैनन् ।
रास्वपाले शाहलाई आगामी निर्वाचनपछिको प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा घोषणा गरिसकेको छ । उनी काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर पार्टी गतिविधिमा सक्रिय हुने तयारीमा रहेको बताइएको छ ।




