काठमाडौँ :- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावी प्रचारका लागि ठूलाठूला सभा गर्ने परम्परा अब समयसापेक्ष नरहेको बताएका छन् ।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा पार्टीको मुख्य ध्यान जनताको घरदैलो अभियानमा रहने स्पष्ट पारे ।
उनले युवापुस्तालाई पार्टीप्रति आकर्षित गर्न सूचना प्रविधिको प्रभावकारी प्रयोगलाई प्राथमिकता दिइने नीति पार्टीले अवलम्बन गर्ने पनि बताए ।
प्रचण्डले भने, “अब चुनाव आउँदैछ, त्यसअनुसार प्रचारको शैली पनि बदलिनुपर्छ । ठूलाठूला सभा गर्नेभन्दा घरघर, टोलटोलमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै हाम्रा संकल्प र एजेन्डा बुझाउनु महत्वपूर्ण छ । ठूला सभा गरेर धेरै भोट आउने भन्ने सोच पुरानो भइसकेको छ । सातै प्रदेशमा अपिल गरिसकेका छौँ, अब जनताको घरघरमा गएर हाम्रा एजेन्डा के हुन्, हामीले विगतका गल्तीबाट सिकेर दोहोर्याउँदैनौँ र देशको नेतृत्व लिन चाहन्छौँ भन्ने कुरा जनतालाई स्पष्ट रूपमा बुझाउन जरुरी छ ।”




