काठमाडौँ :- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले यही पुस १३ र १४ गते पेस गरेको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रमबमोजिम सम्बन्धित उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको हो।
आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। कुनै कारणले सम्बन्धित उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ।




