काठमाडौँ :- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया बाँकी रहेको तथा खाजाको समय छुट्याइएकाले बन्दसत्र दुई घण्टा ढिला गरी सुरु गर्न लागिएको हो।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको व्यवस्था गरिएको छ भने १० बजेदेखि बन्दसत्र औपचारिक रूपमा सुरु हुनेछ।
विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ पुगेको छ, जुन कूल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो। असोजमा विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरिएको थियो। दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुनः निरन्तरता पाउने जनाइएको छ।




