काठमाडौँ :- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउने बताएका छन्।
आज जेनजी रेडफोर्सले आयोजना गरेको जेन–जी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा बोल्दै दाहालले भने, “हामी पार्टी निर्माणको क्रममा होस् वा चुनावमा, समानुपातिक सूची तयार गर्दा होस् वा प्रत्यक्ष निर्वाचनमा पनि जेन–जी पुस्ताका युवालाई उच्च प्राथमिकता दिने प्रयास गर्दैछौं।”
उनले जानकारी दिए कि समानुपातिक बन्दसूचीमा युवालाई प्राथमिकतामा राखिएको छ भने प्रत्यक्षतर्फ पनि युवा र जेन–जी पुस्ताका नवयुवाहरूलाई उम्मेदवार बनाइनेछ। उनले थपे, “हामीले जेनजी पुस्ताको मुस्कान खातुनलाई अगाडि सारेर हजारौँ–लाखौँ युवासँग संवाद गर्ने लक्ष्य राखेका छौं। आगामी दिनमा पनि प्रत्यक्ष र समानुपातिक दुवैमा बढीभन्दा बढी युवालाई समेट्ने योजना बनाइएको छ।”




