काठमाडौँ :- एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार जारी विज्ञप्तिमा बैंकले शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज, हुलहुज्जत र पेट्रोल छर्केर आगजनीको प्रयास गर्ने जस्ता गैरकानुनी गतिविधि भई भएको भन्दै त्यसको भर्त्सना गरेको छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले भने, “बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा यस्ता उच्छृङ्खल गतिविधि पूर्ण रूपमा अस्वीकार्य छन्।”
बैंकले यस्ता घटनाले बैंकिङ क्षेत्रमा असुरक्षित वातावरण सिर्जना गरेको र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको जनाएको छ। साथै, बैंकले घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न र बैंक तथा कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ।



