काठमाडौँ :- मुगुमा भएको जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । हनुमानध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्याएर फर्किने क्रममा जिप दुर्घटनामा परेपछि ऐडीको ज्यान गएको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार न१झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ अन्तर्गत पिना प्रहरी चौकी अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको थियो । आइतबार बेलुकी करिब ७ बजे भएको दुर्घटनामा बोलेरो सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर उद्धार गरेको थियो । गम्भीर घाइते भएका चालक ऐडीलाई राति १० बजे मुगु अस्पताल पुर्याइएको भए पनि चिकित्सकले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेका थिए ।
बैतडीको पाटन नगरपालिका–४ बगाडी स्थायी ठेगाना भएका ऐडीको निधनले नेपाली सेनामा शोक छाएको छ ।




