काठमाडौँ :- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज दिउँसोदेखि निषेधाज्ञा जारी गरेको छ ।
दुई समुदायबीच सम्भावित झडप हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ ।
पछिल्लो समय वीरगञ्जमा विभिन्न विरोध प्रदर्शनका कार्यक्रम हुँदै आएको र त्यसले शान्ति–सुरक्षामा असर पर्न सक्ने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
प्रजिअ दाहालका अनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस, प्रदर्शन तथा धर्ना गर्न निषेध गरिएको छ । निषेधाज्ञाको क्षेत्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावर हाउसचोक र दक्षिणमा शङ्कराचार्यगेटसम्म तोकिएको छ ।
उहाँले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) अनुसार निषेधाज्ञा जारी गरिएको उल्लेख गर्दै आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुनअनुसार कारबाही गरिने चेतावनी दिनुभयो ।



