काठमाडौँ :- भाद्र २३ र २४ का घटनासँग सम्बन्धित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।
आयोगको आज बसेको बैठकले ओलीको विदेश भ्रमणमा रोक लगाउने र काठमाडौं उपत्यका छोड्न नपाउने पूर्वनिर्णय फुकुवा गरेको हो।
आयोगले ती घटनाहरूको अनुसन्धानका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले गरेका कार्यबारे सोधपुछ र आवश्यक जानकारी संकलनको प्रक्रिया पूरा गरिसकेको जनाएको छ। सोधपुछ प्रक्रिया सम्पन्न भइसकेकाले उनीमाथि लगाइएको प्रतिबन्धको औचित्य समाप्त भएको ठहर गर्दै आयोगले फुकुवाको निर्णय गरेको आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिएका छन्।



