काठमाडौँ :- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र काटेको छ।
आयोगले ओलीलाई औपचारिक रूपमा पत्र पठाउँदै बयानका लागि उपस्थित हुन बोलाएको हो।
यसअघि सार्वजनिक रूपमा बयान दिन नजाने अभिव्यक्ति दिँदै आएका ओलीलाई आयोगको पत्र भक्तपुरको गुन्डुस्थित उहाँको निवासमै पुगेर बुझाइएको स्रोतको दाबी छ।
आयोगले यसअघि तत्कालीन गृहमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरीका वर्तमान तथा पूर्वप्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुखलगायतसँग बयान लिइसकेको छ।
सरकारले असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी उक्त आयोग गठन गरेको थियो।



