काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट र पार्टी समायोजन प्रक्रियालाई सहजीकरण गर्न दुई वटा उपसमिति गठन गरेको छ।
आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले उपसमितिलाई योग्य उम्मेदवारको चयन र प्रक्रिया सिफारिस गर्ने जिम्मेवारी दिइएको बताए। यस उपसमितिका सदस्यहरूलाई पार्टी सचिवालयले मनोनयन गर्नेछ।
त्यसैगरी, पार्टी एकता र समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्याउने उद्देश्यले पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति पनि गठन गरिएको छ।



