काठमाडौँ :- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा सर्वदलीय सरकार गठन हुने सम्भावना नरहेको बताएका छन्।
प्रेस सेन्टरले शनिबार खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै दाहालले संसद् पुनःस्थापना पनि नहुने स्पष्ट पारे। उनले वर्तमान राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एकमात्र विकल्प भएको उल्लेख गर्दै सबै राजनीतिक दल निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।
दाहालले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने दाबी गर्दै उक्त निर्वाचन यही सरकारले सम्पन्न गराउने बताए। उनले जनताबाट नयाँ जनादेश लिएर प्रतिनिधिसभा गठन गर्नु अपरिहार्य भएको उल्लेख गर्दै वर्तमान राजनीतिक गतिरोधको निकास पनि यही बाटोबाट सम्भव हुने बताए।
उनले युवा पुस्ता, विशेषगरी ‘जेनजी’ समेत निर्वाचनको पक्षमा रहेको दाबी गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन चुनाव अनिवार्य भएको बताए। निर्वाचन सफलतापूर्वक सम्पन्न गरी राजनीतिक स्थायित्व, समृद्धि र समावेशी लोकतन्त्रको दिशामा अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।



